काठमाडौं । नेपालमा वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायमा अस्वस्थ र विभेदकारी ‘प्रतिस्पर्धा’ तीव्र भएपछि सन नेपाल लाइफ इन्स्योरेन्सले यो व्यवसायबाट पछि हट्ने निर्णय गरेको छ। कम्पनीले यस व्यवसायलाई बहिष्कार गर्दै, नेपाल बीमा प्राधिकरणको निर्देशनसँग असहमत रहेको जनाएको छ।
यसअघि लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल र मेट लाइफ इन्स्योरेन्सले पनि वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय बन्द गरेका थिए। नेपाल बीमा प्राधिकरणले अस्वस्थ प्रतिस्पर्धा रोक्न र व्यवसायको समान वितरणका लागि वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक कोष (पुल) सञ्चालन गरेको थियो।
यसको अनुसार कम्पनीहरूले व्यवसायको हिस्सा समान रूपमा बाँडफाँड गर्नुपर्ने व्यवस्था गरिएको थियो। यस नयाँ व्यवस्थाले सन नेपाल लाइफ इन्स्योरेन्सलाई अन्याय हुने धारणा राख्दै व्यवसाय बन्द गर्ने निर्णय गरेको हो।
प्राधिकरणसँग असहमतिका कारण व्यवसाय स्थगित गरेको बताउदै सन नेपालका प्रतिनिधिले आफुहरुले यस विषयमा पत्राचार गरेको बताए। तर यदि सर्तअनुसार काम भयो भने पुनः व्यवसाय सुरु गर्ने उनले बताए।
हालको आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक तथ्यांक अनुसार, सन नेपाल लाइफको ८ लाख ७९ हजार ८२९ वैदेशिक रोजगार बीमा पोलिसी सक्रिय रहेका छन् र यसले ९८ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। यद्यपि, कम्पनीले व्यवसाय प्रवर्द्धनमा ठूलो लगानी गरेको र अबको व्यवसायको हिस्सा सीमित भएको छ।
नेपाल बीमा प्राधिकरणकाअनुसार, सबै कम्पनीहरूको सहमतिमा सामूहिक कोषको सञ्चालन गरिएको हो। यसरी व्यवसाय गर्न बाधा पुर्याउन सक्ने कुरा छैन।
प्राधिकरणको नयाँ निर्देशन अनुसार, व्यवसायको ६० प्रतिशत समान रूपमा बाँडफाँड गर्ने र ४० प्रतिशत बजार हिस्साको आधारमा वितरण गर्ने व्यवस्था गरिएको छ। यो व्यवस्था केही कम्पनीका लागि फाइदाजनक हुन सक्छ भने अन्यका लागि अनुकूल छैन, जसमा सन नेपाल लाइफ इन्स्योरेन्सको ठूलो हिस्सा पर्छ।




