बाजुरा । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाजुरा जिल्लाको बजेडी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री राख्ने झोला वितरण गरेको छ । बैशाख २४ गते सम्पन्न कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थितिमा सो विद्यालयमा अध्ययनरत १४७ जना विद्यार्थीहरूलाई झोला हस्तान्तरण गरिएको हो ।
विद्यालयमा ई. सि. डी. देखि कक्षा ८ सम्मका विद्यार्थीहरू अध्ययनरत छन् । पिछडिएको क्षेत्र मानिने बाजुरामा आर्थिक रूपले कमजोर तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै सानिमा रिलायन्सले यो पहल गरेको हो । कम्पनीले यस्ता सामाजिक कार्यहरू मार्फत विद्यार्थीहरूको भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
कार्यक्रममा बोल्दै क्षेत्रीय प्रबन्धक उप्रेतीले कम्पनीले नाफामुखी व्यापार मात्र नभई समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । उनले आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा पनि कम्पनीको सक्रियता अझ सशक्त बनाइने जानकारी दिए ।
सानिमा रिलायन्सको देशभर १६९ शाखा सञ्जाल रहेका छन् भने ५ अर्बभन्दा बढीको पूँजी, २० अर्बभन्दा बढीको लगानी तथा २०,००० भन्दा बढी अभिकर्ताहरू कार्यरत छन् । सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै अगाडि बढिरहेको कम्पनीले आगामी दिनहरूमा पनि यस्ता कार्यहरूलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउँदै लैजाने योजना बनाएको जनाएको छ ।




