आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल तथा रिसोर्ट’ सञ्चालनमा

नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा निर्माण गरिएको ‘इला होटल तथा रिसोर्ट’ एक विशेष समारोहबीच औपचारिक रुपमा उद्घाटन भएको छ। मौलाकाली केबलकारको माथिल्लो स्टेशनमा अवस्थित उक्त होटल अबदेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको हो।

आधुनिक पर्यटकीय पूर्वाधारका रूपमा विकास गरिएको सो रिसोर्टमा ६५ वटा सुइट तथा डिलक्स कोठाहरू, एक हजार जनासम्म अट्ने क्षमताको ब्याङ्क्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङ पुल, स्पा, जिम लगायतका उच्चस्तरीय सुविधाहरू उपलब्ध छन्।

इला होटल तथा रिसोर्टको संचालनसँगै मौलाकाली, नारायणी, देवघाट, त्रिवेणी लगायतका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थलहरूमा पर्यटकहरूको आकर्षण बढ्ने विश्वास गरिएको छ। स्थानीय सम्पदा र प्राकृतिक सौन्दर्यलाई पर्यटकीय रुपमा उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित होटल सञ्चालनमा ल्याइएको हो।

आइएमई ग्रुपले सातै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितका परियोजना निर्माण गर्ने योजनाअन्तर्गत हालसम्म तीन प्रदेशमा केबलकार सञ्चालनमा ल्याइसकेको छ। तीमध्ये दुई प्रदेशमा होटलसहितका परियोजनाहरू पनि सञ्चालनमा आइसकेका छन्।

लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अगाडि बढिरहेको छ भने सुदूरपश्चिमको कैलालीमा केबलकार, होटल र रिसोर्ट निर्माणको कार्य एकैसाथ तीव्र गतिमा अगाडि बढाइएको छ।

कैलालीको परियोजना एक वर्षभित्र सञ्चालनमा आउने लक्ष्य लिइएको छ। त्यस्तै, पूर्वी नेपालको ताप्लेजुङस्थित पाथीभरा क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि पनि केबलकार निर्माण प्रक्रिया प्रारम्भ भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप