एनएमबि बैंकको अगुवाइमा ७ अर्बभन्दा बढीको दुई जलविद्युत आयोजना अगाडि बढ्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा दोलखा जिल्लास्थित दुई जलविद्युत् आयोजनाहरू—लाप्चे तामाकोशी जलविद्युत् आयोजना (४२ मेगावाट) र चेपे खोला क्यास्केड जलविद्युत् आयोजना (२ मेगावाट)—को वित्तीय व्यवस्थापन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

यी आयोजनाहरूमा कुल करीब ७ अर्ब ४३ करोड रुपैयाँको लगानी हुने जानकारी गराइएको छ।

दोलखा जिल्लाको विगु गाउँपालिकामा निर्माणाधीन लाप्चे तामाकोशी आयोजनाको अनुमानित लागत ७ अर्ब रुपैयाँ रहेको छ। उक्त आयोजनामा एनएमबि बैंकसहित नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक तथा अन्य वित्तीय संस्थाहरूबाट ५ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी हुनेछ। यस परियोजनाको अगुवा बैंकको जिम्मेवारी एनएमबिले लिएको छ।

त्यस्तै, चेपे खोला क्यास्केड जलविद्युत् आयोजनाको लागत करिब ४३ करोड ४० लाख रुपैयाँ अनुमान गरिएको छ। उक्त आयोजना एनएमबि बैंकको एकल वित्तीय सहायतामा अघि बढ्नेछ, जसमा बैंकले ३४ करोड रुपैयाँ ऋण लगानी गर्नेछ।

दुवै आयोजनाको ऋण सम्झौतामा एनएमबि बैंकका चिफ, सस्टेनेबल इनर्जी बैंकिङ्ग, दिनेश दुलाल र आयोजना प्रवर्द्धक संस्था डायनामिक हाइड्रो इनर्जीका अध्यक्ष मोहन बिक्रम कार्कीले हस्ताक्षर गरेका हुन्। सम्झौता आदान–प्रदान कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले आयोजनाहरूको प्राविधिक, वातावरणीय र जोखिम मूल्याङ्कनमा बैंकले विशेष प्राथमिकता दिने बताएका छन्।

एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरिसकेको उल्लेख गर्दै बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली (ESMS) प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको जानकारी दिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप