नेपाल फिनटेक फेस्टिवल २०२५ : नेपाललाई विश्व फिनटेक नक्शामा उभ्याउने ऐतिहासिक कदम

काठमाडौं । नेपाल फिनटेक फेस्टिवल २०२५ को पहिलो संस्करण भव्य रुपमा काठमाडौंमा सम्पन्न भएको छ। युनियनपे इन्टरनेसनल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) को मुख्य प्रायोजनमा आयोजित यो कार्यक्रमले करिब ४०० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिनटेक, बैंकिङ्, नियामक निकाय र प्रविधि क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता हासिल गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ।

नेपाललाई ‘विश्व फिनटेक नक्शामा’ स्थापित गर्ने महत्वाकांक्षाका साथ काठमाडौं फिनटेकका संस्थापक संजिव सुव्बाको पहलमा पहिलोपटक आयोजना गरिएको यस सम्मेलनले दक्षिण एसियामा भारतपछिको दोस्रो ठूलो फिनटेक सम्मेलनको उपमा समेत पाएको छ। उद्घाटन मन्तव्यमा सुव्बाले नेपाललाई डिजिटल वित्तीय प्रविधिमा अग्रणी बनाउने दृढता व्यक्त गर्दै सम्मेलनको महत्वलाई विशेषरूपमा प्रकाश पारे।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीलाई डिजिटल भुक्तानी प्रवद्र्धनमा पुर्‍याएको योगदानका लागि विशेष सम्मान प्रदान गरिएको थियो। NCHL का प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान, मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युम्न पोखरेल तथा नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले सम्मेलनलाई सशक्त सम्बोधन दिएका थिए।

फेस्टिवलमा सिंगापुरस्थित DBS बैंकका पूर्व Chief Innovation Officer नील क्रसले डिजिटल रूपान्तरण सम्बन्धी प्रेरणादायी अनुभव साझा गरे भने युनियनपे साउथ एशियाका प्रमुख बिङहान हूको प्रमुख सम्बोधनले कार्यक्रमलाई अन्तर्राष्ट्रिय ऊचाइमा पुर्‍याएको थियो। यसै अवसरमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र युनियनपेबीच कार्ड इशुएन्स सम्झौता पनि सम्पन्न भएको छ।

कार्यक्रमको मुख्य विषयवस्तुमा डिजिटल बैंकिङ्ग, साझेदारी रणनीति, कृत्रिम बौद्धिकता (AI), र QR प्रणालीमा आधारित नवप्रवर्तनसम्बन्धी गहिरा छलफलहरू समावेश थिए। NMB, नाबिल, मुक्तिनाथ र ग्लोबल आईएमई बैंकका उच्च पदस्थ कार्यकारीहरूको सहभागिता तथा मन्तव्यले कार्यक्रमलाई अझ सशक्त बनाएको थियो।

नेपाल फिनटेक फेस्टिवल २०२५ ले नेपाललाई दक्षिण एसियाली फिनटेक संवादको अग्रणी केन्द्रतर्फ उन्मुख गराउँदै डिजिटल आर्थिक परिदृश्यमा एक ऐतिहासिक माइलस्टोन कायम गरेको विश्लेषण गरिएको छ। यसले देशको आर्थिक, प्राविधिक तथा वित्तीय प्रणालीलाई दिगो विकासको दिशामा अग्रसर गराउने विश्वास लिइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप