जापानबाट अध्यागमन उल्लंघनका कारण दुई नेपाली निष्काशित

काठमाडौं । जापानको अध्यागमन कानुन उल्लंघन गरेको अभियोगमा दुई जना नेपाली नागरिकलाई जापान सरकारले यसैसाता निष्काशन गरेको छ। पन्त र थापा थर भएका ती दुई नेपालीलाई क्रमशः थाइ एयरलायन्स र थाइ लायन एयरमार्फत नेपाल फर्काइएको हो।

जापानी अध्यागमन स्रोतका अनुसार उनीहरूलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। सोही क्रममा अध्यागमन सम्बन्धी कानुनी प्रक्रिया पूरा गरी नेपाल डिपोर्ट गरिएको हो। यद्यपि, ती नेपालीले कुन–कुन नियम उल्लंघन गरेका थिए भन्ने विवरण सार्वजनिक गरिएको छैन।

दुवै नेपाली यसैसाता काठमाडौं आइपुगेको स्रोतले जानकारी दिएको छ।

पछिल्लो समय जापानले आप्रवासन नीति कडाइ गर्दै अवैध रूपमा बसोबास गर्ने विदेशी नागरिकमाथि निगरानी र कारबाही तीव्र बनाएको छ। रोजगारी, अध्ययन वा अन्य प्रयोजनमा प्रवेशाज्ञा (भिसा) लिई जापान पुगेका केही विदेशी आप्रवासीहरू नियम उल्लंघनमा संलग्न भएको भन्दै कारबाहीमा परिरहेका छन्।

यस नीतिको प्रत्यक्ष असर नेपाली समुदायमाथि पनि पर्न थालेको देखिन्छ।

जापान मात्र होइन, हालका दिनमा अमेरिका, क्यानडा, मलेसिया, फ्रान्स, माल्दिभ्स, दक्षिण कोरिया, जर्मनी लगायत देशहरूले पनि आफ्ना मुलुकमा रहेका विदेशी कामदार र आप्रवासीहरूको निगरानी तथा नियमन कडा बनाएका छन्।

विशेषज्ञहरूका अनुसार श्रम आप्रवासनमा प्रस्टता, कानुनी जानकारी र सचेतनाको अभावमा नेपाली युवा यस्ता समस्यामा पर्न थालेका छन्। उनीहरूले वैदेशिक रोजगारीको चाहनामा आवश्यक कानुनी प्रक्रिया पुरा नगरी विदेशी भूमिमा प्रवेश गर्दा समस्यामा पर्ने खतरा उच्च रहने उल्लेख गरेका छन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री