काठमाडौं । उद्यमशीलता, नवप्रवर्तन तथा लघु उद्यमको सशक्तीकरणका विषयमा गहन संवाद तथा अन्तरक्रिया गर्ने उद्देश्यले नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग र उद्यमशील कांग्रेसको संयुक्त आयोजनामा ‘नीति तथा बजेट संवाद कार्यक्रम’ सम्पन्न भएको छ । सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा उद्यमशीलताका बहुआयामिक सवालमा गहन संवाद तथा अन्तरक्रिया भएको थियो ।
नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले नेपालमा अथाह सम्भावना भएको जलविद्युत्, कृषिलगायतका क्षेत्रलाई महत्व दिँदै सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो भने पूर्वअर्थ राज्यमन्त्री डा. उदयशमशेर राणाले अर्थतन्त्रमा दोस्रो तहको सुधार भएमात्र देश समृद्ध हुन सक्ने बताउनुभयो । सार्वजनिक महत्वका पूर्वाधार निर्माण र मर्मतमा सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले युवा पुस्ता निराश हुँदै विदेशिनुभन्दा आफ्नै देशमा सम्भावना खोज्ने प्रयास गर्नुपर्ने बताउनुभयो । त्यसका लागि नीति निर्माण तहमा बसेकाले समेत वातावरण निर्माण गर्नुपर्ने र शिक्षालाई व्यवसायमुखी बनाइनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग प्रमुख अजयबाबु शिवाकोटीले उद्यमशीलताबारेको छलफलका क्रममा उठेका विषयवस्तुलाई नेतृत्व तहसम्म पुर्याइने बताउनुभयो ।
योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलले नेपालको कानुन उद्योगमैत्री भए पनि कार्यान्वयन पक्ष कमजोर भएको भन्दै समग्र देशलाई नै माथि उठाउने किसिमको सशक्त योजनाको खांँचो औंल्याउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मनोज पौडेलले आर्थिक सुशासन र सार्वजनिक निकायप्रति आममानिसको विश्वास नभएसम्म सफल हुन नसकिने बताउनुभयो । प्रत्येक गाउँ र पालिकामा गएर उद्यमशीलता प्रवद्र्धन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य रञ्जित आचार्यले स्टार्टअपका लागि कर्जा प्रवाह गर्नुमात्रै राज्यको दायित्व नभएको भन्दै यस क्षेत्रमा हात समातेर नै डोहोर्याउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा उद्योग मन्त्रालयअन्तर्गतको औद्योगिक विकास प्रतिष्ठानका इञ्जिनियर उमेश गुप्ताले सरकारले उपलब्ध गराउने स्टार्टअप कर्जाबारे जानकारी दिनुभएको थियो । उद्यमशील कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले उद्यमशीलताको मुद्दामा सरोकारवालाबीच प्रभावकारी छलफलमार्फत् साझा धारणा बनाउने उद्देश्यले छलफलको आयोजना गरिएको बताउनुभयो ।
उद्यमशील कांग्रेसका महासचिव मोहन गजुरेलले उद्यमशीलताका मुद्दालाई निरन्तर रूपमा उठान गरिरहने र आगामी दिनमा सरोकारवाला पक्षसँंग छलफल जारी राख्ने बताउनुभयो । कार्यक्रममा नवउद्यम क्षेत्रका विज्ञ कविराज जोशी, ट्याक्स एड्भोकेट प्रतिष्ठा भण्डारी, आकाश सुवेदीलगायतले धारणा राख्नुभएको थियो ।




