काठमाडौं । जापानको सान्दाईमा पहिलोपटक नेपाल फेस्टिवल आयोजना हुँदै छ। जापानी सहर सान्दाईमा यही जुन ७ र ८ तारिख ‘प्रथम नेपाल फेस्टिवल सान्दाई’ आयोजना गरिने भएको हो।
यसलाई भव्य बनाउन तीव्र रूपमा तयारी भइरहेको आयोजकले जनाएको छ। जसअन्तर्गत यही वैशाख ३ गते (मे ३) सेन्दाईमा अन्तरक्रिया कार्यक्रम गरिएको छ।
कार्यक्रममा सेन्दाई तथा आसपासका सामाजिक संघसंस्था, राजनीतिक दल, व्यवसायी, बुद्धिजीवी, सञ्चारकर्मीलगायत विभिन्न समुदायका प्रतिनिधि सहभागी भएका थिए। कार्यक्रममा आयोजक समितिले फेस्टिवलको प्रस्तावपत्र प्रस्तुत गर्दै आयोजनाका रूपरेखा, उद्देश्य र अपेक्षित उपलब्धिबारे जानकारी गराएको थियो।
यस क्रममा सहभागीहरूबाट प्राप्त सुझाव, सल्लाह तथा मार्गदर्शनका आधारमा प्रस्तावपत्रलाई परिमार्जन गरी योजना निर्माण गरिने आयोजकले प्रतिबद्धता जनाएको छ। आयोजकका अनुसार फेस्टिवलको मूल उद्देश्य नेपाली कला, संस्कृति, भाषा र सभ्यता जापानसहित अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनु हो। साथै जापानवासी नेपालीबीच भावनात्मक एकता, समझदारी र सौहार्दपूर्ण सम्बन्ध विस्तार गर्नु पनि यसको उद्देश्य हो।
सहभागीहरूको सुझावअनुसार, फेस्टिवलमा नेपालका विभिन्न जातीय समुदायको सांस्कृतिक झाँकी, नृत्य, भेषभूषा, खानाका परिकार, हस्तकला तथा लोकसंगीतको आकर्षक प्रदर्शन गरिनेछ। कार्यक्रममा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायत दक्षिण एसियाली मुलुकका सांस्कृतिक टोलीलाई समेत आमन्त्रण गर्ने प्रयास गरिने बताइएको छ।
यस्तै जापानमा गौतम बुद्धको जन्मस्थानबारे रहेको भ्रम हटाउन र उनी नेपालमै जन्मेको कुरा प्रचार गराउन बुद्धसम्बन्धी विशेष कार्यक्रम, र्याली, चित्र प्रदर्शनी र प्रचार सामग्री फेस्टिवलमा समावेश गरिने आयोजकले जानकारी दिएको छ।
फेस्टिवल सफल बनाउन सेन्दाई सिटी प्रशासन, स्थानिय निकाय, जापानी संघसंस्था र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य र समन्वय गरिने बताइएको छ। साथै थप विदेशी संघसंस्था र समुदायलाई फेस्टिवलमा सहभागी गराउन पहल सुरु गरिएको छ।
नेपाल फेस्टिवल सेन्दाईलाई समग्र नेपाली समुदायको फेस्टिवल बनाउने उद्देश्यले सेन्दाई क्षेत्रका सामाजिक संघसंस्था, राजनीतिक दल, विद्यार्थी संगठनलाई सहआयोजकका रूपमा समावेश गर्ने निर्णय गरिएको छ। यसैबीच आयोजकले यो ऐतिहासिक फेस्टिवल सफल बनाउन जापानवासी सबै नेपालीलाई आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग गर्न अपिल गरेको छ।




