काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। बुधबार उच्च वृद्धिपछि आज बजार करिब १२.६० अंकले ओरालो लाग्दै नेप्से २,६६१.०८ विन्दुमा आएर बन्द भएको हो।
आज समग्र बजार परिसूचक ओरालो लागे पनि कारोबार रकम भने उल्लेख्य रूपमा वृद्धि भएको छ। कुल ३ करोड ७ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार सम्पन्न भएको नेप्सेले जनाएको छ।
दिनभरको कारोबारमा ९६ वटा कम्पनीका सेयर मूल्य बढेका छन् भने १५० वटा कम्पनीका मूल्यमा गिरावट आएको छ।
यस दिन नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, बुटवल पावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सका सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ, जसले ती कम्पनीप्रति लगानीकर्ताको आकर्षण झल्काउँछ।
सबैभन्दा बढी कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ। कम्पनीको मात्रै ७८ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ, जुन कुल कारोबारको ठूलो हिस्सा हो।
बजार परिसूचक ओरालो लागेपनि कारोबार गतिविधिमा देखिएको सक्रियता बजारमा लगानीकर्ताको चासो कायमै रहेको संकेत मानिएको छ।



