काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्ट्र्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको अटोमोबाइल प्रदर्शनी नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ खुला गरेको छ । उक्त प्रदर्शनीले सम्पूर्ण अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा सो क्षेत्रका सरोकारवालालाई नयाँ सकारात्मक दृष्टिकोण तथा ऊर्जा प्रदान गर्ने विश्वास आयोजकले गरेको छ ।
साथै अटोमोबाइल क्षेत्रमा समय-समयमा भइरहने परिवर्तनका लागि नीति निर्माता, अटो क्षेत्रका विज्ञ, उद्योगीलाई एउटै ठाउँमा सहभागी गराई अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम् प्रविधि प्रदर्शन गर्ने विश्वास आयोजकको छ ।
नाइमाका अनुसार प्रदर्शनीमा सहभागिताका लागि स्टल बुकिङ वैशाख २९ गतेसम्म खुला रहनेछ । इच्छुक कम्पनीले बुकिङ फारममा आफ्नो आवश्यकता भर्न सक्नेछन् र अन्तिम स्टल बाँडफाँट पारदर्शी लटरी प्रणालीमार्फत् गरिनेछ । दुर्ई र चारपांग्रे सवारी साधन तथा हलुका व्यावसायिक सवारी साधनका लागि छुट्टाछुट्टै हलहरू नराखी प्रदर्शकले आफ्नो ठाउँ र स्थानको आवश्यकताअनुसार कुनै पनि स्टल रोज्न सक्ने व्यवस्था गरिएको छ ।
प्रदर्शनी व्यवस्थापन र संयोजन मिडिया स्पेस सोलुसन्स प्रालिले गर्ने भएको छ । विगतका अन्य प्रदर्शनीको तुलनामा नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न परिवर्तन तथा सुधारहरू हुने आयोजकको दाबी छ ।
नाइमाकी संस्थापक अध्यक्ष रितु सिंह वैद्यले भन्नुभयो, ‘नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योग अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ । हामी हाम्रा सदस्य र उद्योग सरोकारवालालाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्ने काम गरिरहेका छौं र प्रदर्शनीमा भाग लिने कम्पनीलाई एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीको अनुभव गराउन हामी निरन्तर प्रयासरत छौं ।’ उहाँका अनुसार नाइमाले देशको मोबिलिटी क्षेत्रमा साझा मञ्चका रूपमा कार्य गर्नेछ । जसले रणनीतिक सहकार्य, विकास र नीति निर्माणमा सबै सरोकारवालाको आवाज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रतिनिधित्व गर्नेछ ।




