कोटेश्वर-तीनकुने सडकमा तीन सवारी ठोक्किँदा महिला गम्भीर घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वर-तीनकुने सडक खण्डस्थित मुनिभैरव मन्दिर नजिक आज बिहान एकैपटक तीन सवारी साधन आपसमा ठोक्किँदा एक महिला गम्भीर घाइते भएकी छन् । बिहान करिब सवा ६ बजेतिर भएको दुर्घटनामा एउटा यात्रुबाहक बस, एक भ्यान र एक मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी महिलालाई तत्काल उद्धार गरी सिभिल अस्पताल लगिएको छ । अस्पताल स्रोतका अनुसार घाइतेको अवस्था चिन्ताजनक रहेको छ र उपचार जारी छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक गिरीले दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको जानकारी दिए । उनका अनुसार दुर्घटनाको कारण र संलग्न सवारीका विवरणबारे थप अनुसन्धान भइरहेको छ ।

यातायातको चाप उच्च हुने कोटेश्वर-तीनकुने खण्डमा यसअघि पनि पटक-पटक दुर्घटना हुँदै आएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप