काठमाडाैं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा कैलालीस्थित सामुदायिक रेडियो टीकापुर एफएम १०१ मेगाहर्जले लैंगिक समानता तथा सामाजिक समावेशिता पुरस्कार २०८२ (GESI Champion Media Award) प्राप्त गरेको छ ।
नेपाल पत्रकार महासंघले यूरोपियन युनियनको आर्थिक सहयोग र इन्टरन्यास्नल अलर्टको प्राविधिक साझेदारीमा प्रदान गर्ने यो पुरस्कार महिलामैत्री तथा समावेशी सञ्चार प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने सञ्चारमाध्यमहरूलाई प्रदान गरिन्छ । महासंघको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तप बहादुर मगर र नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले संयुक्त रूपमा टिकापुर एफएमलाई प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा वक्ताहरूले सञ्चारमाध्यममा लैंगिक समानता र सामाजिक समावेशीताको प्रवर्द्धन मात्र नभई पत्रकारहरूको सुरक्षालाई पनि सुनिश्चित गर्न आवश्यक रहेकोमा जोड दिए । पुरस्कारको मुख्य उद्देश्य सुरक्षित, समावेशी र उत्तरदायी पत्रकारिताको प्रवर्द्धन गर्नु हाे ।
नेपाल पत्रकार महासंघका अनुसार २०८२ वैशाख २ गतेदेखि खुला गरिएको आवेदनमा २३ सञ्चारमाध्यम सहभागी भएका थिए । सहभागीमध्ये १३ वटा रेडियो/एफएम, ७ वटा अनलाइन पोर्टल, ३ वटा पत्रपत्रिका र १ टेलिभिजन थिए ।
विजेताको छनोटका लागि महिला सहभागिता, समावेशी भर्ना प्रणाली, लैंगिक तथा सामाजिक समावेशीकरण नीति, महिलाका मुद्दालाई प्राथमिकता, गुनासो व्यवस्थापन प्रणाली, अपाङ्ग तथा महिलामैत्री पूर्वाधार, पत्रकार सुरक्षा, श्रमजीवी पत्रकार ऐनलगायत सरकारी मापदण्डको पालना र प्रशिक्षण तथा फेलोसिपका अवसरहरूमा समावेशी पहुँच जस्ता सूचकहरूलाई मूल्यांकन गरिएको थियो ।
मूल्यांकनको आधारमा टीकापुर एफएम १०१ मेगाहर्जले लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण र कार्यान्वयन, महिला तथा सीमान्तकृत समुदायका पत्रकारहरूको सक्रिय सहभागिता, सुरक्षित कार्य वातावरण र समावेशी सञ्चार प्रवर्द्धनमा पुर्याएको योगदानलाई उच्च मूल्यांकन गर्दै सम्मानित गरिएको महासंघले जनाएको छ ।




