काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ राजनीतिक कारण होइन, राष्ट्र बैंकभित्रकै संरचनात्मक समस्या भएको स्पष्ट पारेका छन्।
मंगलबार सानेपास्थित पार्टी कार्यालयमा नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर नियुक्तिमा कुनै अवरोध नगरेको जिकिर गरे।
“गभर्नरको विषयमा अहिले राजनीतिक समस्या छैन,” देउवाले भने, “ओलीजी पनि सकारात्मक हुनुहुन्छ, राष्ट्र बैंकभित्रकै समस्या हो।”
उनका अनुसार प्रधानमन्त्री ओलीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिएका छन् र यस विषयमा पूर्ण सहयोग गरिरहेको बताएका छन्।
कार्यक्रममा देउवाले गठबन्धन सरकारलाई अर्थतन्त्र सुधारका लागि थप जिम्मेवार बन्न आह्वान गर्दै अबको बजेट व्यवहारिक, कार्यान्वयनमुखी र विकास अभिमुख हुनुपर्नेमा जोड दिए। “देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ,” उनले भने, “अबको बजेटले जनअपेक्षा सम्बोधन गर्नुपर्छ।”
फरक प्रसङ्गमा देउवाले नेपालले भारतभन्दा पहिल्यै उदारीकरणको नीति अंगीकार गरेको उल्लेख गर्दै वर्तमान माओवादी केन्द्र र एमाले पनि अब सोही आर्थिक नीतिको पक्षमा रहेको धारणा राखे। “सरकारको काम व्यापार र उद्योग चलाउने होइन,” उनले भने, “अब सबै पार्टीहरू उदारीकरणप्रति सकारात्मक छन्।”




