काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को स्वदेशी कार्ड योजना “नेपाल पे कार्ड” मा प्रिन्सिपल मेम्बरको रूपमा औपचारिकरूपमा आबद्ध भएको छ। बैंक र एनसीएचएलबीच भएको सम्झौतापत्रमा बैंकका तर्फबाट वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत प्रकाश बराल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।
एनसीएचएलले हालै बीच NPS–NCS तथा नेपाल पे कार्ड स्किम अन्तर्गत आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएको घोषणा गर्दै, बैंक तथा वित्तीय संस्थाहरूलाई यस प्रणालीमा आबद्ध हुन आह्वान गरेको थियो। यसक्रममा ज्योति विकास बैंकले प्रिन्सिपल मेम्बरसिप प्राप्त गर्दै ग्राहकहरूका लागि नेपाल पे कार्ड जारी गर्न र कारोबार सेवा विस्तार गर्न तयारी थालेको छ।
नेपाल पे कार्ड, नेपालको पहिलो पूर्ण स्वदेशी डोमेस्टिक कार्ड स्किम हो, जुन एनसीएचएलको पहलमा विकास गरिएको हो। यो स्किमले विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै, राष्ट्रिय स्तरमा कारोबारको राउटिङ र सेटलमेन्टको एकीकृत संरचना निर्माण गर्ने लक्ष्य लिएको छ।




