अर्थमन्त्री पौडेलको दौडधुप तीव्र, बजेटका विषयमा धारणा बुझ्न पुगे प्रचण्ड निवास

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणलाई लिएर अर्थमन्त्री विष्णु पौडेल सक्रिय परामर्शमा जुटेका छन् । मंगलबार बिहान उनले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारस्थित निवासमा भेटवार्ता गरेका छन् । अध्यक्ष प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसँग सम्बन्धित विषयमा विस्तृत छलफल भएको हो ।

यसअघि सोमबार अर्थमन्त्री पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बूढानीलकण्ठ निवासमा भेट गर्दै बजेट सम्बन्धी सुझाव लिएका थिए । संघीय संसदमा हाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ । सरकारले जेठ १५ गते बजेट सार्वजनिक गर्ने तयारी गरिरहेकाले अर्थमन्त्री पौडेलले प्रमुख दलका नेताहरूसँग परामर्शलाई तीव्रता दिएका हुन् ।

बजेटले समेट्ने प्राथमिकता, समावेशी विकास, राजस्व संरचना, सामाजिक सुरक्षा, कृषि, रोजगारी र संघीयताको प्रभावकारी कार्यान्वयन जस्ता विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री