काठमाडौं । नेपालकै अग्रणी डिजिटल भुक्तानी सञ्जाल फोनपेले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सर्वाधिक कर तिर्ने संस्था रूपमा नेपाल सरकारबाट सम्मान प्राप्त गरेका छन्। सरकारको तर्फबाट यो सम्मान ८औं राष्ट्रिय आइसीटी दिवसको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहमार्फत प्रदान गरिएको हो।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानपत्र ग्रहण गरेका छन्। सरकारको तर्फबाट प्रदान गरिएको उक्त सम्मानले फोनपेको जिम्मेवार करदाताको पहिचान र नेपालको डिजिटल प्रविधिको प्रवर्द्धनमा कम्पनीले पुर्याएको योगदानप्रति उच्च मूल्याङ्कन गरेका छन्।
फोनपेले नेपालको आइसीटी इकोसिस्टमको विकास तथा नगदरहित अर्थतन्त्रको प्रवर्द्धनमा खेलेको भूमिकाले यस सम्मानलाई थप सार्थक बनाएको छ। कम्पनीले वित्तीय समावेशीकरण, डिजिटल कारोबारको विस्तार र उपभोक्ता सशक्तीकरणमा विगतदेखि नै नवप्रवर्तनात्मक समाधानहरू प्रस्तुत गर्दै आएको छ।
फोनपेका सीईओ दिवास कुमारका अनुसार, “नेपाल सरकारबाट प्राप्त यो सम्मान हाम्रो लागि गर्वको विषय हो। फोनपेमा हामी जिम्मेवार कर्पोरेट नागरिकता र डिजिटल नवप्रवर्तनबीचको सम्बन्धलाई गम्भीर रूपमा लिन्छौं।”
उनले थप बताएका छन्, “हामी नेपालको डिजिटल अर्थतन्त्र बलियो बनाउने यात्रामा अझ प्रतिबद्ध छौं र आगामी दिनमा पनि कर तिर्ने दायित्वप्रति अझ सजग रहनेछौं।”
फोनपेको यो सम्मानले नेपालमा डिजिटल सेवा प्रदायक संस्थाहरूलाई जिम्मेवार करदाताको रूपमा स्थापित हुन प्रेरणा दिने विश्वास गरिएको छ।




