काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नव नियुक्त राज्यमन्त्री खमबहादुर गर्बुजालाई आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा औपचारिक स्वागत गरेका छन्।
स्वागत कार्यक्रममा मन्त्री खड्काले सहकार्य, पारदर्शिता र जवाफदेहिताका आधारमा मन्त्रालयको कार्य सम्पादनलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले राज्यमन्त्री गर्बुजाको अनुभव र क्षमताले ऊर्जा सुरक्षा सुदृढीकरण, जलस्रोतको दिगो उपयोग तथा सिँचाइ सेवा विस्तारमा ठोस योगदान पुर्याउने विश्वाससमेत व्यक्त गरे।
“मन्त्रालयको कार्यक्षेत्रलाई थप प्रभावकारी बनाउन उहाँको योगदान अमूल्य हुनेछ,” मन्त्री खड्काले भनाइ उद्धृत गर्दै मन्त्रालयले जनाएको छ। साथै, उनले राज्यमन्त्री गर्बुजालाई सफल कार्यकालको शुभकामनासमेत दिए।
राज्यमन्त्री गर्बुजाले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए। गत वैशाख १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका थिए।
यस नियुक्तिसँगै मन्त्रालयमा नयाँ नेतृत्वले प्राथमिकतामा रहेका ऊर्जा पूर्वाधार विस्तार, जलस्रोतको अधिकतम उपयोग, तथा सिँचाइ पहुँच अभिवृद्धि जस्ता विषयमा गति दिने अपेक्षा गरिएको छ।




