काठमाडौँ । नेपालकै पहिलो एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) प्लेटिनम स्वीकृत संस्था सीड फाइनान्सियल एकेडेमीले काठमाडौंको मेरियट होटलमा एक समारोहका साथ ग्र्याजुएसन कार्यक्रम सम्पन्न गरेको छ।
समारोहमा एसीसीएको अध्ययन सफलतापूर्वक सम्पन्न गरेका ४७ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। सीड फाइनान्सियल एकेडेमी नेपालमा एसीसीए स्नातकहरूका लागि ग्र्याजुएसन कार्यक्रम आयोजना गर्ने पहिलो संस्था भएको बताइएको छ ।
समारोहमा एसीसीए नेपालका प्रमुख रविन कटवाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले लेखा तथा वित्त क्षेत्रमा व्यावसायिक उत्कृष्टताको महत्त्वलाई उल्लेख गर्दै स्नातकहरूलाई उज्वल भविष्यको शुभकामना दिए। यसैगरी, एसीसीए एसिया प्यासिफिक क्षेत्रकी शिक्षा तथा अध्ययन प्रमुख एस्थर थङले विशेष भिडियो सन्देशमार्फत कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थीहरूको सफलतालाई बधाई दिइन्।
कार्यक्रममा सीड फाइनान्सियल एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अनन्त गौतमले स्नातकहरूको समर्पण र कठोर परिश्रमको खुलेर प्रशंसा गर्दै भने, “आज तपाईंहरूले केवल आफ्नो शैक्षिक यात्रा सम्पन्न गर्नुभएको छैन, तपाईंहरूले ज्ञान र इमानदारीका माध्यमबाट नयाँ यात्राको थालनी गर्नुभएको छ।”
छ वर्षअघि स्थापना भएको सीड फाइनान्सियल एकेडेमीले गुणस्तरीय शिक्षा, विद्यार्थीकेन्द्रित सिकाइ र व्यवहारिक तयारीमा निरन्तर समर्पण गर्दै नेपालको लेखा तथा वित्त क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ।
समारोहमा स्नातक विद्यार्थीहरू, उनीहरूको परिवार, शिक्षकगण तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।




