-
ऊर्जा विकासमा पत्रकारहरूको योगदान उल्लेखनीय : अध्यक्ष कार्की
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सञ्चारिका समूहको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना जनाएको छ । एक कार्यक्रमका बीच इप्पानले सञ्चारिकाको नवगठित नेतृत्वलाई ऊर्जा क्षेत्रमा पत्रकारितामार्फत योगदान पु-याउन शुभकामना दिँदै भावी सहकार्यको आशा व्यक्त गरेको हो ।
कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले मुलुकको ऊर्जा क्षेत्रको समुन्नत विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै महिला पत्रकारहरूको इमान्दार र निष्ठावान प्रयासलाई सराहना गरेका छन् । ‘सूचनाको माध्यमबाट नीतिगत बहस अघि बढाउने कार्यमा सञ्चारिकाले निर्वाह गरेको भूमिकालाई हामी सकारात्मक रूपमा लिन्छौं,’ उनले भने ।
सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले इप्पान जस्ता संस्थाको सहकार्य पत्रकारहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण हुने धारणा व्यक्त गरिन् । ‘ऊर्जा क्षेत्रको पारदर्शिता, समावेशिता र दीगो विकासका लागि पत्रकारहरूको भूमिका अझ सशक्त हुनुपर्छ, जसका लागि संस्थागत सहकार्य आवश्यक छ,’ उनको भनाइ थियो ।
बधाई तथा शुभकामना कार्यक्रममा इप्पानबाट अध्यक्ष कार्कीसँगै वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, महासचिव बलराम खतिवडा, सचिव भरत नेपाल, कार्यसमिति सदस्य मिथुन पौडेल र प्रमुख कार्यकारी अधिकृत भीम गौतमको उपस्थिति रहेको थियो ।
त्यसैगरी सञ्चारिका समूहको तर्फबाट अध्यक्ष कमला पन्थी, महासचिव राधा खनाल, कार्यसमिति सदस्य कल्पना शर्मा, कालिका शिवाकोटी, सम्झना वन, राधा पौड्याल, तारा चापागाईं र देवी सापकोटालगायतको सहभागिता रहेको थियो ।





