काठमाडौं । भारतको उडिसा राज्यस्थित क्यालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा स्नातक तह पहिलो वर्षमा अध्ययनरत १८ वर्षीया नेपाली छात्रा प्रिसा साह मृत फेला परेकी छन् । छात्रावासको कोठामा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको खबर नयाँदिल्लीस्थित नेपाली राजदूतावासले पुष्टि गरेको छ ।
प्रेस विज्ञप्तिमार्फत राजदूतावासले घटनाबारे गम्भीर ध्यान दिँदै अनुसन्धान र आवश्यक समन्वयका लागि सक्रियता देखाएको जनाएको छ । प्राप्त जानकारीअनुसार, घटनाबारे सूचना १ मे २०२५ को राति प्राप्त भएको हो । सोही जानकारीका आधारमा राजदूतावासले केआईआईटी कलेजका प्रमुख शैक्षिक अधिकारीहरू, अन्तर्राष्ट्रिय विद्यार्थी समन्वयकर्ता, छात्रावास व्यवस्थापक तथा अन्य सम्बन्धित व्यक्तिहरूसँग आज बिहान छलफल गरेको हो ।
छलफलमा उनीहरूबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार, प्रिसा साह झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ । राजदूतावासले घटनालगत्तै मृतककी आमा श्रीमती नितु देवी मण्डलसँग सम्पर्क गरी दुखद घटनाबारे जानकारी गराएको छ । साथै, परिवारजनसँग निरन्तर समन्वय भइरहेको र आवश्यक सहयोग उपलब्ध गराउने तयारी भएको दूतावासले जनाएको छ ।
यसै सन्दर्भमा, राजदूतावासले ओडिशा राज्य सरकार, राज्यको मुख्यमन्त्री कार्यालय तथा अन्य भारतीय निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको छ । घटनाको गम्भीरता बुझ्दै आवश्यक अनुसन्धानका लागि पहल भइरहेको स्पष्ट पारिएको छ । विज्ञप्तिमा नेपाली राजदूत डा. शंकर शर्माले स्व. प्रिसा साहप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।




