काठमाडौं । देशका पश्चिमी भूभागमा सक्रिय वर्षा प्रणाली सुदूरपश्चिम तथा कर्णाली प्रदेश हुँदै लुम्बिनी प्रदेशतर्फ सर्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले गर्दा देशभर मौसम बदलीको अवस्था देखिएको हो ।
विभागले जानकारी दिएको अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा हुने सम्भावना रहेको छ । विभागले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रहने र हल्कादेखि छिटफुट वर्षा हुने सम्भावना छ । ‘पानी धेरै पर्ने छैन, तर तीन दिनसम्म हल्का खालको वर्षा जारी रहन सक्छ,’ उनले उनले भनिन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो जारी गरेको बुलेटिनमा काठमाडौं उपत्यकासहित देशका धेरै स्थानहरूमा हल्का खालको वर्षा हुने सम्भावना औंल्याइएको छ । काठमाडौंवासीलाई दिउँसोपछि छाता लिएर बाहिर निस्कन सुझाव दिइएको छ । वर्षा प्रणालीको प्रभाव केही दिनसम्म रहिरहने प्रक्षेपण गरिएको हुँदा दैनिक कार्यतालिका बनाउँदा मौसमको पूर्वानुमानलाई ध्यानमा राख्न मौसमविद्हरूको सुझाव छ ।




