काठमाडौं । अब स्वास्थ्य बीमामा आबद्ध नागरिकले बीमा गरिएको स्थानमा फर्कनु नपरी बसेकै स्थानबाटै प्रथम सेवा बिन्दु कायम गरेर सेवा लिन सक्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गरी यो व्यवस्था पारित गरेको हो ।
यसअघि, बीमा गराइएको ठाउँबाट अन्यत्र गएका नागरिकलाई स्वास्थ्य सेवा लिन पुनः बीमा गरिएको स्थानमै जानुपर्ने बाध्यता थियो । अब भने स्थायी बसोबास स्थानमा नै स्वास्थ्य सेवा सुरु गर्न सकिनेछ, जसले रेफरल प्रणालीमा रहेको झन्झट हटाउने विश्वास गरिएको छ ।
मन्त्री पौडेलले नागरिकको मागअनुसार स्वास्थ्य बीमालाई व्यवहारिक, सहज र पहुँचयोग्य बनाउने उद्देश्यले यो संशोधन प्रस्ताव अघि सारेका थिए । बुधबारको मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ ।
नयाँ संशोधनसँगै स्वास्थ्य बीमाको सेवा लिन अब तीन महिना पर्खनु पर्ने बाध्यता हट्नेछ । अब बीमा गरेपछि एक महिनाभित्रै सेवा लिन सकिने व्यवस्था मिलाइएको छ । यसले स्वास्थ्य बीमामा आम नागरिकको पहुँचलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम देशभर फैलिसकेको भए पनि प्रथम सेवा बिन्दु सबै तहमा उपलब्ध थिएनन् । अब नियमावलीमा भएको संशोधन अनुसार स्थानीय, प्रदेश र संघीय तह सबैमा पहिलो सेवा बिन्दु व्यवस्था गरिनेछ। यसले नागरिकले नजिकैको स्वास्थ्य संस्था मार्फतै बीमा सेवा उपयोग गर्न सक्ने सुनिश्चित गर्नेछ ।
मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बीमालाई सर्वसुलभ र कार्यान्वयनमैत्री बनाउन नियमावली संशोधन अपरिहार्य थियो । यसले नागरिकलाई समयमै सेवा लिन, फिर्ता जानुपर्ने बाध्यता हटाउन र प्राथमिक उपचार सहज बनाउन सहयोग गर्नेछ ।’




