कमजोर बन्दै सानिमा बैंकको वित्तीय अवस्था : लाभांश दशककै न्यून, खराब कर्जा दोब्बरले बढ्यो

काठमाडौं । कुनै समय उत्कृष्ट वित्तीय प्रदर्शनका कारण प्रतिस्पर्धी बैंकहरूलाई चकित बनाउने सानिमा बैंकको वित्तीय अवस्था पछिल्ला तिमाहीहरूमा कमजोर बन्दै गएको देखिएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा समग्र रूपमा मुनाफा कायम राखे पनि लाभांश, खराब कर्जा र ब्याज आम्दानीमा गिरावट देखिएको हो ।

आर्थिक वर्ष २०८०/८१ को साधारणसभामार्फत बैंकले शेयरधनीहरूलाई जम्मा ५.२६ प्रतिशत नगद लाभांश मात्र प्रदान गर्ने निर्णय गरेको छ, जुन पछिल्ला १० वर्षको न्यूनतम स्तर हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (९ महिनाको अवधिमा) बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यो मुनाफा १ अर्ब ४३ करोड थियो । यसरी खुद मुनाफा १४.८० प्रतिशतले वृद्धि भए पनि अन्य सूचकहरू चिन्ताजनक छन् ।

ब्याज आम्दानीमा गिरावट : बैंकको मुख्य आम्दानी स्रोत खुद ब्याज आम्दानी ६.५२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ५८ करोड रहेको ब्याज आम्दानी चालु वर्षमा ४ अर्ब २८ करोडमा झरेको छ । बैंकहरूका लागि ब्याज आम्दानीमा गिरावट राम्रो संकेत मानिंदैन ।

खराब कर्जामा दोब्बर वृद्धि : बैंकको खराब कर्जा (नन-पर्फर्मिङ लोन) दोब्बरले बढेर ३.४२ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा यो दर १.८९ प्रतिशत मात्र थियो, जुन अहिलेको तुलनामा निकै कम हो ।

अन्य वित्तीय सूचकहरू
बैंकको संचालन मुनाफा ९.१२ प्रतिशतले बढेर २ अर्ब २५ करोड पुगेको छ भने प्रतिशेयर आम्दानी १६.२२ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १४.१३ रुपैयाँ थियो । वितरणयोग्य मुनाफा २ अर्ब १९ करोड पुगेको छ भने सञ्चित मुनाफा पनि उस्तै स्तरमै कायम छ । यसैगरी, जगेडा कोष ६ अर्ब १२ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.९८ प्रतिशतले बढी हो । बैंकको किताबी मूल्य (Book Value) प्रतिशेयर १६१.३२ रुपैयाँ रहेको छ । हालसम्म बैंकले २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७३ अर्ब कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जा दुवै ८ प्रतिशतभन्दा बढी वृद्धिमा छन् ।

ब्याज दर र स्प्रेड
बैंकको आधार ब्याजदर ६.४३ प्रतिशत मा झरेको छ भने स्प्रेड दर ३.६० प्रतिशत मा खुम्चिएको छ। गत वर्ष स्प्रेड दर ४.०० प्रतिशत थियो । सानिमा बैंकको संचालक समितिको अध्यक्षमा तुकप्रसाद पौडेल छन् भने सीईओको जिम्मेवारी निश्चलराज पाण्डेले सम्हालेका छन् । बैंकका ठूला शेयरधनीमध्ये अरुण कुमार ओझाको ७.९४ प्रतिशत स्वामित्व कायम छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री