नेपालमा अन्तर्राष्ट्रिय आँखा स्वास्थ्य सम्मेलन प्रारम्भ, १०० देशका प्रतिनिधि सहभागी

काठमाडौं । नेपालले पहिलोपटक आँखा स्वास्थ्यका क्षेत्रमा विश्वभर क्रियाशील संस्थाहरूको ठूलो जमघटलाई स्वागत गरेको छ। इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आईएपीबी)को आयोजनामा ‘इन साइट अफ लाइफ २०३०’ शीर्षकमा अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको हो।

विश्वका करिब १०० राष्ट्रबाट ५०० भन्दा बढी विशेषज्ञहरूको सहभागिता रहेको सम्मेलनमा अन्धोपन निवारण, आँखा स्वास्थ्य प्रवर्द्धन र दिगो समाधानका विषयमा रणनीतिक छलफल भइरहेको छ।

आईएपीबीका अनुसार सम्मेलनको उद्देश्य विश्वव्यापी आँखासम्बन्धी सेवामा सहकार्यको सञ्जाल विस्तार गर्नुका साथै नेतृत्व र वकालतलाई थप प्रभावकारी बनाउनु हो।

आईएपीबीको सदस्य संस्था नेपाल नेत्रज्योति संघ, नेपाल आँखा अस्पताल, तिलगंगा आँखा प्रतिष्ठान र बिपी आई फाउन्डेशनलगायत नेपाली संस्थाहरू सम्मेलनको सहआयोजकका रूपमा सक्रिय छन्।

नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले सन् २०३० सम्मका लागि आवश्यक रणनीति र योजनामा केन्द्रित रहेर सम्मेलन चलिरहेको जानकारी दिए।

संघका महासचिव भरतबहादुर चन्दले सम्मेलन नेपालमा आयोजना हुनु गौरवको विषय भएको बताउँदै भने, “यसले हाम्रो आँखा सेवा प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनेछ र नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ।”

नेपाल नेत्रज्योति संघको तथ्याङ्कअनुसार हालसम्म देशभर २८ आँखा अस्पताल, १६० आँखा उपचार केन्द्र र ४५ जिल्ला शाखा मार्फत करिब चार करोड ३६ लाखभन्दा बढी बिरामीको उपचार भइसकेको छ। त्यसमध्ये ५१ लाखभन्दा बढीले आँखाको शल्यक्रिया सेवा पाएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री