‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गर्ने प्रचण्डको प्रतिबद्धता

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद र बेपत्ता योद्धाहरूका सपना साकार पार्ने दृढता व्यक्त गरेका छन्। हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान अन्तर्गत पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका प्रचण्डले सहिद परिवारलाई लक्षित गरी “एक सहिद, एक रोजगार” कार्यक्रम सञ्चालन गर्ने घोषणा गरे।

सहिद परिवार सम्मान समारोहमा बोल्दै उनले पार्टी र आफू सहिद परिवारप्रति गहिरो प्रतिबद्धताका साथ उभिएको स्पष्ट पारे। “गणतन्त्र जनताको बलिदानबाट स्थापित भएको हो, त्यसैले यसको विकल्प अरु कुनै शासन व्यवस्था हुन सक्दैन,” उनले भने। कार्यक्रममा उनले सहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान समेत गरे।

त्यसैगरी, प्रचण्डले बेलौरी नगरपालिकाको रामपुरस्थित खानेपानी आयोजना उद्घाटन गर्दै शोभाताल क्षेत्रको अवलोकन पनि गरे। पुनर्वास नगरपालिका–५ स्थित शोभाताल परिसरमा सहिद तथा बेपत्ता परिवारसँगको भेटमा उनले न्याय, समानता र सम्मानको मार्गमा अघि बढ्ने प्रतिबद्धता पुनः दोहोर्‍याए।

कैलाली प्रवेश गर्दा माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूलाई थारु समुदायले विशेष परिकारसहित पारम्परिक शैलीमा स्वागत गरे। कैलारी गाउँपालिका–५ बैजपुरमा चामलको कनिकाबाट बनाइएको ‘खुडिक कपुवा’, मुसा, गँगटा, बयरको चटनी, लोकल कुखुराको मासु, घोँघी, खरियालजस्ता मौलिक परिकारहरू प्रस्तुत गरिए। नेताहरूले ती परिकार स्वादपूर्वक चाख्दै थारु संस्कृतिको प्रशंसा गरेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री