राष्ट्रपति पौडेलको सन्देश- भूकम्पीय जोखिम न्यूनीकरणमा जनचेतना आवश्यक

काठमाडौं । भूकम्प स्मृति दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले देशवासीलाई भूकम्पीय जोखिमप्रति सजग रहन र जनचेतना फैलाउन आह्वान गरेका छन्।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूबाट ज्यान गुमाएका नागरिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, राष्ट्रपति पौडेलले उक्त विपत्तिबाट प्राप्त पाठलाई स्मरण गर्दै सतर्कता अपनाउनुपर्नेमा जोड दिए।

उनले भने, “भूकम्प प्राकृतिक विपद् हो, तर मानव निर्मित भौतिक संरचना र सहरीकरणको असन्तुलनले जोखिम झनै बढाएको छ। नेपालजस्तो भौगोलिक र भू-वनावटले संवेदनशील देशमा जनचेतनाको भूमिका अझै महत्वपूर्ण छ।”

राष्ट्रपतिले सम्बन्धित निकायहरूको ध्यान आकृष्ट गराउँदै जनस्तरमा भूकम्पीय सुरक्षा र सजगता सम्बन्धी चेतना फैलाउनु अहिलेको आवश्यकता भएको उल्लेख गरे।

उनले पुनर्निर्माणको सन्दर्भमा सरकारद्वारा सम्पन्न कार्यको सराहना गर्दै भने, “राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत धेरै संरचनाहरू पुनर्निर्माण भइसकेका छन्। बाँकी कामहरूको जिम्मेवारी अब सम्बन्धित निकायले लिएको छ। पुनर्निर्मित संरचनामा हाम्रो मौलिकता झल्किएको छ र भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग हुनु सुखद पक्ष हो।”

राष्ट्रपतिले पुनःस्थापना र पुनर्निर्माणमा योगदान पुर्‍याउने सबैलाई धन्यवाद दिँदै भूकम्प स्मृति दिवसबाट सबै नेपालीमा मिलेर सुरक्षित भविष्य निर्माण गर्ने प्रेरणा जागोस् भन्ने शुभकामना व्यक्त गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप