काठमाडौं । देशभर, विशेष गरी तराईका जिल्लाहरूमा गर्मीको तिव्र लहरले जनजीवन प्रभावित बनाएको छ। अप्रत्याशित रूपमा बढेको तापक्रमका कारण सर्वसाधारणको दैनिकी कठिन बन्दै गएको छ।
चितवनको भरतपुर विमानस्थल कार्यालयका अनुसार बुधवार चितवनको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुगेको थियो। बिहान ६ बजे २३ डिग्री रहेको तापक्रम मध्यान्हसम्ममा ३८ डिग्री नाघेको थियो। यसअघि मङ्गलवार पनि तापक्रम ३९ डिग्री सेल्सियस नै मापन गरिएको थियो भने सोमबार ३८ डिग्री सेल्सियस पुगेको थियो। यो क्रम जारी रहे निकट भविष्यमै तापक्रम ४० डिग्री सेल्सियस नाघ्न सक्ने अनुमान गरिएको छ।
अघिल्लो हिउँदे खडेरीपछि केही दिनअघिको वर्षाले मौसम केही समयका लागि शीतल भए पनि अहिलेको चर्को घाम र गर्मीले त्यो राहत टिक्न सकेन। दैनिक ज्यालादारी मजदुर, किसान र ज्येष्ठ नागरिकहरू सबभन्दा बढी प्रभावित भएका छन्। गर्मीको कारणले धेरैले आफ्नो कामको समय तालिका परिवर्तन गर्न थालेका छन्।
स्वास्थ्यमा पनि गर्मीको प्रत्यक्ष असर देखिन थालेको छ। चिकित्सकहरूका अनुसार डिहाइड्रेसन, आँखा पोल्ने, टाउको दुख्ने, झाडापखाला, शरीर चिलाउने जस्ता समस्याका कारण बिरामीको संख्या बढ्दो छ। बालबालिका र वृद्धवृद्धा बढी जोखिममा परेका छन्।
स्थानीय प्रशासन तथा स्वास्थ्य संस्थाहरूले नागरिकलाई सजग रहन आग्रह गरेका छन्। प्रशस्त पानी पिउन, हल्का तथा सुतीका कपडा लगाउन, घाममा कम निस्कन, र स्वास्थ्यमा समस्या देखिए तुरुन्त चिकित्सकको सल्लाह लिन भनिएको छ। साथै, सामाजिक संघ–संस्थाहरूले शीतल पानी वितरण र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न थालेका छन्।
हाललाई गर्मीको यो अवस्था कहिलेसम्म रहन्छ भन्ने प्रष्ट जानकारी मौसम विभागले दिएको छैन। तर तत्काल सुधारको सम्भावना न्यून देखिएकोले चितवनसहित देशभरका बासिन्दा थप समस्यामा परिरहेका छन्। यस्तो अवस्थामा सरकारले पनि जनताको सुरक्षाका लागि थप प्रभावकारी कदम चाल्न जरुरी देखिएको छ।




