बुटवल । भारतको जम्मु कश्मीरमा भएको आतंकवादी हमलामा ज्यान गुमाएका बुटवलका २७ वर्षीय सुदीप न्यौपाको शव बिहीबार बिहान नेपाल ल्याइएको छ । नयाँ दिल्ली हुँदै लखनउबाट हवाई मार्गमा ल्याइएको शव बेलहिया नाका पार गर्दै बुटवलसम्म सडकमार्गबाट ल्याइएको हो ।
रुपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार, ‘आज बिहान सुदीपको शव बेलहिया नाका आइपुगेको छ, हामीले अब शव परिवारको जिम्मा लगाएर घरसम्म पुर्याउँछौं ।’
सुदीप शनिबार आमा रिमाकला न्यौपाने, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसँगै कश्मीरको वैसरण उपत्यका घुम्न गएका थिए । रमाइरहेका बेला मंगलबार दिउँसो अचानक बन्दुकधारी आतंकवादीको आक्रमणमा परे र गोली लागेर घटनास्थलमै निधन भयो । उनको साथमा रहेका आमा, बहिनी र ज्वाइँ भने भागेर ज्यान जोगाउन सफल भए । आमा रिमाकला भाग्ने क्रममा सामान्य घाइते भएकी छन् । उनीहरू पनि अहिले सुदीपको शवसँगै बुटवल आइपुगेका छन् ।
उक्त आतंकी हमलामा सुदीपसहित कम्तीमा २६ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्, तीमध्ये दुई जना विदेशी नागरिक थिए । बुटवल-१४ का वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार, सुदीपको शव आजै बुटवल-११ मन्कामना पथस्थित घरमा लगिनेछ र अन्त्येष्टि गर्ने कार्यक्रम तय गरिएको छ । आमा-बुवाको सम्बन्ध विच्छेदपछि सुदीप आमा र बहिनीसँग बुटवल-११ कालीकानगरमा बस्दै आएका थिए ।
सुदीपको पुर्ख्यौली घर पाल्पाको बगनासकाली गाउँपालिका-४ हो । उनका बुवा ध्रुव न्यौपाने शिक्षक पेशामा संलग्न छन् र हाल शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौंमा थिए । मंगलबार घर फर्किँदै गर्दा उनले छोराको निधनको दुखद खबर पाएका थिए ।




