काठमाडौं । बुधबार नियुक्त भएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त मन्त्रिपरिषद्मा बरियताको आधारमा आठौँ स्थानमा परेका छन् । राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको २४ सदस्यीय मन्त्रिपरिषद् (जसमा २ जना राज्यमन्त्री छन्) अनुसार मन्त्री पन्तले यो स्थान पाएका हुन् ।
मन्त्रिपरिषद्को वरियताको सूचीमा प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च स्थानमा छन् भने दोस्रोमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह छन् । तेस्रो स्थानमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल रहेका छन् । त्यसपछिका स्थानमा क्रमशः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र परराष्ट्रमन्त्री डा. आरजु राणा रहेका छन् ।
शिक्षामन्त्री पन्तपछि वरियतामा आउने अन्य मन्त्रीहरूमा नवौँ स्थानमा खानेपानीमन्त्री प्रदीप यादव, दशौँ स्थानमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, र एघारौँ स्थानमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी छन् । एमालेतर्फबाट मन्त्रिपरिषद्मा सहभागी भएका मन्त्रीहरूको सन्दर्भमा पन्त चौथो वरियतामा रहेका छन् । जसलाई धेरैले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको आलोचना छाडेर प्रतिरक्षा गर्दाको पुरस्कार भनेका छन् ।
पछिल्लो निर्वाचनमा ओलीले रघुजीलाई पहिलो नम्बरको समानुपातिक सांसद बनाए । ०७९ पुसमा संसद प्रवेश गरेका पन्त त्यसयता निरन्तर एमाले नेतृत्वको रक्षामा उभिएका छन् । संसदमा पनि सबैभन्दा बढी बोल्ने अवसर उनैले पाएका छन् । पार्टी सत्तामा हुँदा सरकारको र पार्टीको प्रतिरक्षा गर्नेदेखि प्रतिपक्षमा हुँदा सरकारविरुद्ध धावा बोल्न उनी अगाडि रहेका थिए ।




