दाउन्नेमा सुक्खा पहिरोले नारायणगढ-बुटवल सडक अवरुद्ध, सयौँ सवारी जाममा

काठमाडौं । नारायणगढ-बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सुक्खा पहिरो खस्दा दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्नेमा सडकको बायाँ किनाराबाट लगातार पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार हाल दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा बन्द छ र पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ।

पहिरोका कारण सयौँ सवारी साधन जाममा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जाराका अनुसार पहिरो खसिरहेकाले सडकको भित्ता काटेर मार्ग निर्माण गर्नुपर्ने अवस्था देखिएको छ।

दाउन्ने क्षेत्रमा अहिले सडक विस्तारको काम भइरहेका बेला कालोपत्रे सडक खनेर काम भइरहेको थियो। यही क्रममा आज सुक्खा पहिरो खसेको हो।

सडक विस्तारका लागि दाउन्ने खण्डमा दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकेर काम गरिँदै आइरहेको छ। यद्यपि, आकस्मिक पहिरोले पूर्वानुमानबिनै समस्या थपिएको हो।

सुरक्षाकर्मी र प्राविधिक टोलीले पहिरो हटाउने कार्य तीव्र बनाएको बताइएको छ। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा बाटो खुल्ने जानकारीका लागि सम्बन्धित निकायबाट सूचनाको पर्खाइ गर्न अनुरोध गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री