नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालबीच आँखा उपचारमा आपसी सहकार्य गर्ने समझदारी भएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा ती संस्थाबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार दुवै पक्षबिच जनशक्ति र विशेषज्ञताको आदानप्रदान तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू अगाडि बढाउन र आँखा स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिवृद्धि गरी रोकथामका उपायहरू अवलम्बन गर्ने कार्यमा सहकार्य हुनेछ ।

त्यसैगरी नेपाल प्रहरी अस्पताल (प्रादेशिक अस्पतालहरू समेत) बाट रिफर भई आएका बहालवाला प्रहरी कर्मचारीहरूको आँखासम्बन्धी उपचार तथा शल्यक्रियाहरू नेत्रज्योति सङ्घअन्तर्गतका आँखा अस्पतालहरूबाट निःशुल्क गरिनेछ ।

उक्त समझदारी पत्र हस्ताक्षर कार्यक्रममा सङ्घका महासचिव भरतबहादुर चन्दले नेपालबाट अन्धोपन निवारण गर्ने सङ्घको योजनामा दुई संस्थाबिचको सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

जनताको सेवामा खटिने प्रहरीसँग सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउँदै उनले आगामी दिनमा सेवा विस्तारका लागि सङ्घ सदैव तयार रहेको बताए ।

प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम गराउन अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई यस समझदारीले थप हौसला मिल्ने उल्लेख गरे । आगामी दिनमा समेत नेपाल प्रहरी र नेपाल नेत्रज्योति सङ्घबिच थप सेवा विस्तारका लागि समन्वय तथा सहकार्य हुने विश्वास उनले व्यक्त गरे ।

समझदारी पत्रमा सङ्घका तर्फबाट महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र तथा नेपाल प्रहरी अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दर प्रसाद ह्योजु, आँखा रोग विभाग प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा ज्योति बाँस्तोला पौडेलले हस्ताक्षर गरेका छन् ।

सन् १९७८ मा स्थापना भएको नेपाल नेत्रज्योति सङ्घले २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र, र ४५ जिल्ला शाखामार्फत वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई आँखासम्बन्धी सेवा दिँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री