काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि निस्किएको बुलेरो गाडीमा अचानक आगलागी हुँदा चार जनाको ज्यान गएको छ भने दुई जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मे १ च ३०११ नम्बरको उक्त बुलेरो गाडी फुङ्लिङ नगरपालिका(१० स्थित सेवारोचोकमा पुग्दा एक्कासि आगलागी भएको हो । प्रहरीका सूचना अधिकारी विवेक बस्नेतले आगलागीबाट ज्यान गुमाउनेहरूको परिचय हालसम्म खुल्न नसकेको जानकारी दिएका छन् ।
प्रारम्भिक अनुसन्धान अनुसार सोमबार बिहान करिब ५ बजेतिर सडकमा झरेको विद्युत् तारमा गाडी जुधेपछि आगलागी भएको हो। सो तार विद्युतको पोलबाट चुँडिएर खसेको र गाडी त्यसमा अल्झिएपछि आगो लागेको बताइएको छ ।
घटनाको खबर पाउनासाथ प्रहरी निरीक्षक रवि रावलको नेतृत्वमा १५ जनाको टोली तत्कालै घटनास्थलमा पुगेको थियो । घाइतेलाई उद्धार गरी जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ । आगलागी पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको जनाइएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




