निषेधित क्षेत्रमा बाक्लो संख्यामा प्रहरी तैनाथ, ट्राफिक डाइभर्सनको तयारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई निषेधित क्षेत्र अतिक्रमण गर्ने खुला चुनौती दिएपछि राजधानीको सुरक्षा व्यवस्था थप कडा पारिने भएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले आइतबार बिहानैदेखि निषेधित क्षेत्रको सुरक्षा अभेद्य बनाउन प्रहरी टोलीहरू तैनाथ भएकाे जानकारी दिए । ‘उनीहरूले तयारी गर्ने भनिएको समयभन्दा पहिले नै हाम्रो टोली त्यहाँ पुगिसक्यो,’ उनले भने ।

प्रहरीका अनुसार राप्रपाले गर्ने भनिएको विरोध कार्यक्रमलाई ध्यानमा राख्दै उपत्यकाका विभिन्न गण र गुल्मबाट थप प्रहरी खटाइनेछ । परिचालित प्रहरीसँग म्याद ननाघेको अश्रुग्यास, प्लास्टिकका गोली तथा वाटर क्यानलसहितका संयन्त्रहरू तयारी अवस्थामा रहनेछन् ।

यसबाहेक, सम्भावित भिडभाड तथा सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै उपत्यका ट्राफिक प्रहरीले पनि ट्राफिक व्यवस्थापनका लागि ‘डाइभर्सन’ योजना बनाउने भएको छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेले भने, ‘परिस्थिति हेरेर रुट परिवर्तन गर्ने निर्णय लिइनेछ ।’

राप्रपाले निषेधित क्षेत्रतर्फ प्रदर्शन गर्ने चेतावनी दिएपछि सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा पुगेको छ । राजधानीका प्रमुख चोकहरूमा थप प्रहरी तैनाथी र यातायात व्यवस्थापनका पूर्वतयारीहरूले आइतबारको दिन राजधानीको सडक र राजनीतिक तापक्रम दुवै चर्किने संकेत देखिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री