काठमाडौं । देशका केही भूभागमा आज हल्कादेखि मध्यम वर्षासँगै मेघगर्जन र चट्याङको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिमपात हुने सम्भावना पनि छ ।
दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा वर्षा हुने देखिएको छ भने बाँकी स्थानमा मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको अन्य भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
मौसमविद् गोविन्द झाले काठमाडौंमा आज वर्षाको सम्भावना न्यून रहेको जानकारी दिए । ‘उपत्यकामा आज मौसम बदली रहनेछ, तर वर्षा हुने सम्भावना छैन,’ उनले भने ।
रातिको पूर्वानुमान अनुसार कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पनि बदली रहनेछ भने ती क्षेत्रका केही स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । वर्तमानमा देशमा स्थानीय वायु र पश्चिमी वायुप्रणालीको प्रभाव सक्रिय रहेको विभागले जनाएको छ ।




