काठमाडौं । साता हङकङमा सम्पन्न चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा कुवेतसँग पराजित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको वरीयता खस्किएको छ ।
फाइनल खेलमा नेपाल कुवेतसँग ३ रनले हारेर उपाधिबाट बञ्चित भयो । यस पराजयसँगै नेपाल एक स्थान तल झर्दै टी-२०आई वरीयताको १८औं स्थानमा पुगेको छ । कुवेत नेपालभन्दा तलको वरीयतामा रहेको टोली हो, जससँगको हारले नेपाललाई प्रतिकूल असर पारेको छ ।
यसैबीच, अलराउण्डर दिपेन्द्रसिंह ऐरीको व्यक्तिगत प्रदर्शनले पनि अपेक्षित सफलता हासिल गर्न सकेन । टी-२०आई अलराउण्डर वरीयतामा दोस्रो स्थानमा रहेका दिपेन्द्र अहिले तेस्रो स्थानमा झरेका छन् । उनले २३३ रेटिङबाट घट्दै २०९ मा झर्दा इंग्ल्यान्डका लियाम लिभिङस्टोनसँग बराबरीमा पुगेका छन् ।
दिपेन्द्रको खस्किँदो प्रदर्शनका कारण अस्ट्रेलियाका मार्कस स्टोइनिस दोस्रो स्थानमा उक्लिएका छन् भने भारतका हार्दिक पाण्ड्या २५२ रेटिङसहित शीर्ष स्थानमा यथावत् छन् ।
हङकङ शृंखलामा दिपेन्द्रको प्रदर्शन मिश्रित रह्यो । कतारविरुद्ध ब्याटिङ गर्ने मौका पाएनन् र बलिङमा ४ ओभरमा २६ रन खर्चिएर कुनै विकेट लिन सकेनन् । कुवेतविरुद्धको खेलमा उनले १२ बलमा आक्रामक ३१ रन बनाए पनि फाइनलमा भने शून्य रनमै डकआउट भए । बलिङतर्फ, फाइनलमा उनले १ ओभर मात्र बलिङ गरे र विकेटविहीन रहे ।




