काठमाडौं । सुनसरी जिल्लाको इनरुवा नगरपालिका-१ मा चौपायाको खुट्टाजस्तो देखिने अंग फालिएको अवस्थामा भेटिएको छ । बुधबार बिहान करिब १० बजे स्थानीयले सडकमा एउटा खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उक्त खुट्टा गाई वा गोरुको हो भन्ने यकिन भइनसके पनि प्रहरी प्रारम्भिक अनुसन्धानमा कतै गाई वा गोरु काटेर फालेको हुन सक्ने आशंका गरिरहेको छ । अर्कोतर्फ, उक्त खुट्टा कुकुरले कतैबाट ल्याएर त्यहाँ छाडेको सम्भावनाको कुरा पनि प्रहरीले गरेको छ ।
घटनाको गम्भीरता मध्यनजर गर्दै सुनसरी जिल्ला प्रहरी कार्यालयले डीएसपी योगराज खतिवडाको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । प्रहरी प्रवक्ता खतिवडाको संयोजकत्वमा गठित समितिले घटनास्थलको निरीक्षण गरी अनुसन्धान सुरु गरिसकेको छ ।
सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले घटनासम्बन्धी आवश्यक विवरण संकलन हुँदै गरेको जानकारी दिएका छन् । फेला परेको खुट्टाजस्तो वस्तुलाई परीक्षणका लागि सम्बन्धित निकायमा पठाउने तयारी पनि भइरहेको प्रहरीले जनाएको छ ।




