काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राजनीतिक स्थिरता रहेकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मकरुपमा उद्योग–व्यवसायलाई अगाडि बढाउनका लागि आग्रह गरे । प्रधानमन्त्री ओलीले चेम्बर एकताबद्ध सोच लिएर अगाडि बढेको महत्त्वपूर्ण संस्था भएको बताए ।
प्रधानमन्त्री ओलीले सरकारबाट आर्थिक विकासका लागि ल्याइएका अध्यादेशहरूप्रति चेम्बरजस्ता संस्थाहरूले अफ्ठेरो पार्ने काम नगरी समर्थन गरेको भन्दै सही र गलतका आधारमा समर्थन र विरोध गर्ने शैलीहरू प्रशंसनीय रहेको बताए । हामीलाई सुशासन र विकास चाहिएको छ ।
‘सुशासनमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार भएको हुनसक्छ । त्यसलाई नियन्त्रण गर्नका लागि तपाईँहरूको पनि सहयोग चाहिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘देशको परिवर्तनका लागि योगदान गरेका ठुला पार्टीहरू मिलेर सरकार बनेको छ ।’
त्यसले स्थिरता दिएको आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो सिलसिला कायम बताए ।




