काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान अवस्थाबाट अघि बढ्न सम्भव नरहेको बताउँदै सबै राजनीतिक शक्तिहरूको सहभागिता र सहमतिमा नयाँ राष्ट्रिय समझदारी आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
मंगलबार राप्रपाले बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले शान्तिपूर्ण संवादका माध्यमबाट नयाँ समझदारी निर्माण गर्न सबै दलहरूलाई आग्रह गरे। उनका अनुसार, “देश अघि त बढ्नेछ, तर अहिलेको बाटोबाट होइन। त्यसैले अब समय आएको छ, नयाँ बाटो खोज्ने र सबै पक्षलाई समेट्ने मौलिक व्यवस्था निर्माण गर्ने।”
उनले विगत र वर्तमानका सकारात्मक पक्षलाई समेटेर एक यस्तो प्रणाली बनाउनु पर्ने बताए, जसमा जनता सार्वभौमसत्ताका वास्तविक मालिक हुनेछन् र राजा अभिभावकीय भूमिकामा रहनेछन्।
लिङ्देनले प्रस्ताव गरेको नयाँ व्यवस्थामा निम्न बुँदाहरू समावेश हुने उल्लेख गरे:
- जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री,
- सनातन हिन्दु राष्ट्रको मान्यता,
- प्रदेश विहीन सशक्त केन्द्र र बलियो स्थानीय शासन,
- सबै प्रकारका भ्रष्टाचारविरुद्ध कडा कारबाहीको सुनिश्चितता,
- देशभित्रै रोजगारी सिर्जना,
- शिक्षा तथा स्वास्थ्य क्षेत्र पूर्णतः निःशुल्क बनाउने योजना।
उनले थपे, “हामी यस्तो राष्ट्र बनाउने छौँ जहाँ जनताको अधिकार सुरक्षित हुने छ, शासनमा जवाफदेहिता हुनेछ र जनता राहत महसुस गर्नेछन्।”




