काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका-६ स्थित पाँचकन्या सामुदायिक वन क्षेत्रमा एक महिलाको शव फेला परेको छ । अर्धनग्न अवस्थामा भेटिएको शव करिब ३० वर्ष जतिकी महिलाको भएको अनुमान गरिएको छ ।
शुक्रबार स्थानीयवासी गोठालो गएका बेला लसुनेको रुखमुनि शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट संयुक्त टोली घटनास्थलमा खटिएको थियो ।
सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिमल्सिनाका अनुसार, घटनास्थलको प्रारम्भिक अध्ययन र शवको अवस्थाले घाँटी कसेर हत्या गरिएको आशंका गर्न सकिन्छ । ‘हत्या गरी शव लसुनेको रुखमुनि अड्याएर छाडिएको देखिन्छ,’ एसपी तिमल्सिनाले भने, ‘घटनाको प्रकृति अत्यन्तै गम्भीर छ ।’
घटनास्थलमा तालिम प्राप्त कुकुरसहितको फरेन्सिक टोली परिचालन गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । मृतकको सनाखतका लागि प्रहरीको प्रयास जारी रहेको छ ।
प्रहरीले घटनाको प्रकृति गम्भीर र शंकास्पद रहेको जनाउँदै, दोषी पत्ता लगाउन अनुसन्धानलाई तीव्र बनाइएको जानकारी दिएको छ ।




