काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा भ्रष्टाचार व्यापक रूपमा फैलिएको दाबी गरेका छन् । सोमबार पार्टी निकट खेलकुद महासंघको कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारका हरेक क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको बताएका हुन् ।
खनालका अनुसार हाल देशका विभिन्न क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएको छ, जसको पछिल्लो उदाहरण नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हटाइनु रहेको उनले जिकिर गरे । उनले तीन महिनामात्र कार्यकाल बाँकी रहेका घिसिङलाई जबरजस्ती हटाइनुमा स्वार्थ, कायरता र निर्ममता रहेको आरोप लगाए ।
उनले जलविद्युत् आयोजनासँग सम्बन्धित भ्रष्टाचारबारे विशेष रूपमा ध्यानाकर्षण गराउँदै भने, ‘हाल कम्तीमा ४ हजार मेगावाटका जलविद्युत् योजनाहरूका लागि विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने समय आइसकेको छ । यस्ता सम्झौताहरूमा ६ देखि ८ अर्ब रुपैयाँको लेनदेन हुने सम्भावना रहेको छ ।’
यस क्रममा खनालले देशमा बेरोजगारी गम्भीर समस्या बनेको उल्लेख गर्दै सरकारलाई युवा रोजगारी सिर्जना गर्न विशेष ध्यान दिन आग्रह गरे ।




