काठमाडौं । नेपाल बैंकले सातै प्रदेशका लागि विभिन्न पदमा कर्मचारी माग गर्दै सूचना प्रकाशन गरेको छ। बैंकले प्रबन्धक (सिए), उप प्रबन्धक, सहायक प्रबन्धक, आइटी सहायक, सहायक र कनिष्ठ सहायक गरी १६३ पदमा आवेदन खुलाएको छ ।
बैंकका अनुसार, प्रबन्धक (सिए) पदका लागि उम्मेदवारको उमेर २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ । उप प्रबन्धक तथा सहायक प्रबन्धकका लागि २१ देखि ३५ वर्षसम्मको उमेरसीमा तोकिएको छ । त्यस्तै, आइटी सहायक, सहायक तथा कनिष्ठ सहायक पदका लागि उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।
परीक्षाका लागि तोकिएको दस्तुर प्रबन्धक (सिए), उप प्रबन्धक र सहायक प्रबन्धक पदका उम्मेदवारका लागि १,००० रुपैयाँ रहेको छ भने समावेशी समूहका लागि थप ४०० रुपैयाँ लाग्नेछ । त्यस्तै, आइटी सहायक, सहायक र कनिष्ठ सहायक पदका लागि ८०० रुपैयाँ र समावेशी समूहका लागि थप २०० रुपैयाँ लाग्ने व्यवस्था छ ।
इच्छुक तथा योग्य नेपाली नागरिकहरूले वैशाख ४ गतेसम्म आवेदन दिन सक्नेछन् । साथै, दोब्बर दस्तुर तिरेर वैशाख ११ गतेसम्म आवेदन दिने अवसर समेत रहेको बैंकले जनाएको छ ।




