काठमाडौं । नेपाली बजारमा लक्जरी इलेक्ट्रिक एसयूभी (इभी) को पहिचान बनाउँदै आएको स्काईवेलले राजधानीको नक्साल, नारायणचौरमा आफ्नो नयाँ फ्ल्यागशिप सोरुम सञ्चालनमा ल्याएको छ। शुक्रबार आयोजित विशेष समारोहमा चीनका उप-राजदूत वाड् जीनले रिवन काटेर सोरुमको औपचारिक उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस झु, कन्ट्री म्यानेजर भिरा, तथा नेपालका लागि आधिकारिक विक्रेता जि. मोटर्स प्रा. लि.का अध्यक्ष दुर्गा प्रसाद गेलालको उपस्थिति रहेको थियो।
चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी स्काईवर्थअन्तर्गत उत्पादन हुने स्काईवेल ब्रान्डले हालसम्म ६५ भन्दा बढी देशमा आफ्नो उपस्थिति दर्ज गराइसकेको छ। अनुसन्धान तथा प्रविधिमा गरिएको उच्च लगानी, सशक्त वित्तीय संरचना र विश्वस्तरीय गुणस्तरका कारण यो ब्रान्डले छोटो समयमै अन्तर्राष्ट्रिय बजारमा सशक्त स्थान बनाउन सफल भएको छ।
नेपालमा करिब एक वर्षअघि भक्तपुरको राधेराधेमा पहिलो सोरुम खोलेर प्रवेश गरेको स्काईवेलले ६२० किलोमिटर रेन्ज भएको ‘इटी फाइभ’ मोडेलको प्रिमियम इभी एसयूभी सार्वजनिक गरेको थियो। नेपाली ग्राहकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्दै कम्पनीले एक वर्षभित्रै १०० भन्दा बढी इकाइ बिक्री गरेको छ। ग्राहकको मागलाई ध्यानमा राख्दै स्काईवेलले अब राजधानीको नक्सालमा आफ्नो पाँचौं सोरुम सञ्चालनमा ल्याएको हो।
जि. मोटर्स प्रा. लि.का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालका अनुसार स्काईवेललाई अब लक्जरी इभीको उत्कृष्ट विकल्पको रूपमा लिइन थालिएको छ। उनले भने, “हाम्रा ग्राहकहरू प्रिमियम जर्मन कारहरू छोडेर स्काईवेल रोज्न थालेका छन्। हामी उनीहरूलाई उत्कृष्ट सेवा दिन प्रतिबद्ध छौं।”
कार्यकारी निर्देशक पारस मणि गेलालले स्काईवेललाई केवल साधारण इभी नभई लक्जरी इभी ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको उल्लेख गरे। उनले भने, “ग्राहकको गर्व र विश्वास कायम राख्दै, उनीहरूलाई स्तरीय सेवा र सुविधा प्रदान गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो।”
हाल नेपालमा स्काईवेलको ४१० किलोमिटर रेन्ज भएको प्रारम्भिक मोडेलको मूल्य ७९ लाख ९० हजार रुपैयाँदेखि सुरु हुन्छ भने उच्च रेन्ज र विशेष सुविधा समेटिएको मोडेलको मूल्य १ करोड १५ लाख रुपैयाँसम्म पुग्छ। कम्पनीले निकट भविष्यमा अझ प्रिमियम फिचरयुक्त सानो एसयूभी नेपाली बजारमा ल्याउने योजना बनाएको जानकारी दिएको छ।




