काठमाडौं । वरिष्ठ पत्रकार तथा राजनीतिज्ञ माथवरसिंह बस्नेतको ७९ वर्षको उमेरमा शनिबार निधन भएको छ । हृदयाघातपछि उनलाई भक्तपुरस्थित घरबाट काठमाडौँको अन्नपूर्ण न्युरो अस्पताल पुर्याइएको थियो, जहाँ उपचारकै क्रममा उनको निधन भयो ।
बस्नेतलाई बिहीबार राति अचानक हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो, तर चिकित्सकहरूको प्रयास असफल रह्यो । नेपाली कांग्रेस भक्तपुरका सचिव सुशील बस्नेतका अनुसार उनको अन्त्येष्टि आजै पशुपतिस्थित आर्यघाटमा गरिनेछ ।
पत्रकारितामा विशिष्ट पहिचान बनाएका बस्नेत ‘पुनर्जागरण साप्ताहिक’ का संस्थापक सम्पादक थिए । उनी राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत थिए ।
राजनीतिमा समेत सक्रिय रहेका बस्नेत नेपाली कांग्रेसका नेता गणेशमान सिंहका निकट मानिन्थे । उनले लामो समय राजनीतिमा क्रियाशील रहँदै गणेशमान सिंह स्मृति बाटिकाको अध्यक्ष पद सम्हालेका थिए ।
२०१७ सालदेखि राजनीतिक यात्रा सुरु गरेका बस्नेत प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा अग्रसर थिए । उनी यस क्रममा जेल परेका थिए र उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि मात्र उनी जेलमुक्त भएका थिए । स्व. बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन् ।



