काठमाडौं । नेपालको फ्रेन्चाइजमा आधारित फुटबल लिग एनसेल नेपाल सुपर लिग (एनएसएल)ले खल्ती र आईएमई पेलाई आधिकारिक टिकटिङ पार्टनरको रूपमा घोषणा गरेको छ।
एनएसएल, खल्ती र आईएमई पेबीचको त्रिपक्षीय सम्झौतामार्फत यो साझेदारी गरिएको हो। यसअन्तर्गत खेलका टिकटहरू डिजिटल रूपमा प्रदान गरिने एनएसएलले जनाएको छ।
मार्च २९ देखि तेस्रो सिजन सुरु हुने तय भएको लिगले टिकट खरिदलाई सजिलो, पहुँचयोग्य र सुविधाजनक बनाएर फ्यान अनुभव बढाउने लक्ष्य राखेको छ।
समर्थकहरूले खल्ती र आइएमई पे मार्फत डिजिटल वालेट, मोबाइल बैंकिङ र अनलाइन भुक्तानीका माध्यमहरू प्रयोग गरी भौतिक लेनदेनविना नै खेलका टिकटहरू तुरुन्तै किन्न सक्नेछन्।
खेलको पहुँचलाई आधुनिकीकरण गर्ने र देशभरका नेपाली फुटबल प्रशंसकहरूका लागि लिगलाई अझ बढी पहुँचयोग्य बनाउने एनएसएल को दृष्टिकोण अन्तर्गत यो साझेदारी गरिएको हो।




