काठमाडौं । बाढी-पहिरोका कारण क्षतिग्रस्त बनेको बीपी राजमार्ग अन्तर्गत नेपालथोकदेखि बर्खेखोला (सिन्धुली खण्ड) पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । गत असोज १०/१३ गतेको प्राकृतिक विपत्तिले सडकमा गम्भीर क्षति पुगेपछि पुनर्निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।
सडक डिभिजन खाल्टेले बुधबार ठेक्का प्रक्रिया सुरू गरेको हो । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार उक्त खण्ड पुनर्निर्माणका लागि करिब ७२ करोड रुपैयाँको ठेक्का आह्वान गरिएको छ। ठेक्का ३० दिनभित्र खोलिनेछ भने अन्य खण्डहरूको ठेक्का पनि क्रमशः आह्वान गरिने उनले जानकारी दिए ।
बीपी राजमार्ग पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले यसअघि नै ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरिसकेको छ । पुनर्निर्माणका लागि बाँकी तीनवटा (काभ्रेतर्फका) खण्डको ठेक्का प्रक्रिया सडक डिभिजन भक्तपुरले अगाडि बढाउनेछ ।
मनसुन अन्त्यतिरको बाढी-पहिरोले काभ्रेपलाञ्चोकको भकुन्डेबेसीदेखि नेपालथोकसम्म २८ किलोमिटर सडकमा ठूलो क्षति पुर्याएको थियो । यसमध्ये ८.७ किलोमिटर सडक पूर्ण रूपमा कटान भएको थियो । सडक विभागले उक्त क्षतिग्रस्त भागको अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो, जसअनुसार पुनर्निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
नयाँ निर्माणपछि उक्त २८ किलोमिटर सडक डबल लेनको हुनेछ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका अनुसार सडकको चौडाइ १० मिटर रहनेछ, जसमा सात मिटर भाग कालोपत्र गरिनेछ । डिपिआरअनुसार सडकमा तीन सय एमएम मोटाइको सब-बेस, २५० एमएमको बेस, ७५ एमएमको वाटर बाउन्ड म्याडम, र ४० एमएमको अस्फाल्ट कालोपत्र गरिनेछ ।
त्यस्तै, निर्माण कार्यका लागि तीन लाख ९६ हजार घनमिटर माटो कटिङ गर्नुपर्नेछ भने सात लाख ६४ हजार घनमिटर क्षेत्र पुर्नुपर्नेछ ।
असोजको बाढी-पहिरोपछि क्षतिग्रस्त राजमार्गको अस्थायी डाइभर्सन निर्माण गरेर १३ दिनमै सवारी आवागमन पुनः सञ्चालन गरिएको थियो । हाल चौकीडाँडामा मर्मत कार्य करिब ५० प्रतिशत पूरा भइसकेको छ भने पिप्लेमा पनि डाइभर्सन निर्माण सुरु हुने तयारी भइरहेको छ । राजमार्ग मर्मत कार्यका लागि हाल ८ वटा उपकरण परिचालन गरिएका छन्, जसमा एउटा डोजर र सात वटा स्काभेटर प्रयोग भइरहेको छ ।
बीपी राजमार्ग हुँदै हाल दैनिक तीन हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । जापान सरकारको सहयोगमा सन् १९९६ देखि निर्माण सुरु भएको बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास) को १६० किलोमिटर खण्ड सन् २०१५ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।




