काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ ।आइतबार काठमाडौंमा पूर्वराजालाई स्वागतका लागि आयोजित प्रदर्शनका क्रममा वातावरण प्रदूषण गराएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना तोकेको थियो ।
पूर्व राजाको स्वागतका क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटनजिक, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै काठमाडौं महानगरले राप्रपालाई जरिवाना गरेको थियो ।
उक्त जरिवाना वापतको रकम राप्रपाले महानगरलाई सोमबार बुझाएको हो । संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगर प्रहरीको टोलीलाई भेटेर जरिवाना वापतको रकम बुझाएको हो ।
‘ज्ञानेन्द्र शाहीलगायत आएर जरिवाना बुझाएर जानुभएको छ,’ काठमाडौं महानगरका नगर प्रहरी प्रशासन प्रमुख धर्म भण्डारीले भने । राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि महानगरलाई जरिवाना बुझाएको तस्बिर फेसबुकमा राख्दै लेखेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं। रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौं। ’
पूर्वराजाको स्वागतमा सहभागी व्यक्तिहरूबाट सार्वजनिक क्षेत्रका सडक, सडकपेटी, आइल्यान्ड र त्यहाँ रहेका विरूवाका साथै रेलिङहरूमा भौतिक क्षति पुगेको र जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको महानगरको भनाइ थियो । राप्रपाले पूर्व राजाको स्वागतका लागि पूर्व निर्धारित आमसभा नै स्थगित गरेको थियो ।




