काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बलियो साथ दिनुपर्ने बताएका छन् । उनले कांग्रेस र एमाले सहभागी संयुक्त सरकारलाई थप बलियो र सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिएका हुन् ।
भैरहवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले एमाले नेतृत्वको सरकारलाई पार्टीले पूर्ण सहयोग गर्नुपर्ने बताए । उनले अहिले एमालेलाई सहयोग गरेको खण्डमा मात्र भोलि बन्ने कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेबाट पुरापुर सहयोग मिल्ने सभापति देउवाले उल्लेख गरे ।
‘मुख्य त ठूला दुई दलको सहभागितामा सरकार गठन भएकाले यो सफल हुनेछ,’ उनले भने, ‘कांग्रेस, एमाले बाहेक दलका साथीहरू पनि सरकारमा समावेश हुनु एकदमै राम्रो कुरा हो ।’
सरकारमा सहभागी नभएका विपक्षी दलको पनि मुलुक सञ्चालनमा ठूलो भूमिका रहेकाले समावेशी चरित्रको लोकतान्त्रिक शासन रहेको उनले बताए । ‘यी सबै कुरालाई मध्यनजर गरेर हामी हाम्रो पार्टी बनाउनतर्फ केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘भोलिका दिनमा कांग्रेसले बहुमत नै नल्याएपछि पक्कै ठूलो पार्टी बन्ने छ, त्यसका लागि अग्रसर हुनुस् ।’




