काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले समयमै बिमाशुल्क नतिरेका बिमितहरुको लागि ब्याज छुट दिने निर्णय गरेको छ। कम्पनीले माघ मसान्तसम्म बिमा शुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित भएका) बिमालेख पुनर्जागरण गराउँदा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट दिने भएको हो।
कम्पनीले यस्ता बिमालेख पुनर्जागरण गर्दा फागुन १९ गतेदेखि चैत १९ गतेसम्म छुट पाइने उल्लेख गरेको हो। कम्पनीले परिपक्व हुन ५ बर्षदेखि माथिको समय भएका बिमालेखको हकमा ५० प्रतिशत र २ वर्षदेखि ५ वर्ष बाँकी रहेको हकमा २५ प्रतिशतसम्म ब्याज छुट दिने स्किम ल्याएको हो।
पछिल्लो समय बिमालेख बिचमै त्याग्नेको संख्यामा बढ्न थालेपछि बिमा कम्पनीहरुले ब्याज छुट गरेरै भए पनि बिमालेख पुनर्जागरण गर्न लगाइरहेका छन्। एसियन लाइफ इन्स्योरेन्सको पनि ५ हजार बढिको बिमालेख सरेण्डर भइसकेको छ। बढ्दो सरेन्डरलाई रोक्न कम्पनीले ब्याज छुटको स्किम ल्याएको हो ।




