काठमाडौँ । राजधानीका केही स्कुलहरूले गोलप्रथाबाट विद्यार्थी भर्ना गर्दै आएकोमा त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता सुजाता केसीले सेन्टमेरिज स्कुललगायतलाई प्रतिवादी बनाएर दायर गरेको रिटको पेसी शुक्रबार न्यायाधीश नहकुल सुवेदीको इजलासमा तोकिएको हो ।
रिट बिहीबार दर्ता भएको थियो भने रिटमा आगामी शैक्षिक सत्रमा योग्यता प्रणालीका आधारमा भर्ना लिन आदेश माग गरिएको छ । स्कुलहरूले सूचना निकालेर गोलाप्रथाबाट भर्ना लिँदा यसले विद्यार्थीको शैक्षिक क्षमता, सिर्जनात्मकता तथा योग्यताको परीक्षण नगर्ने दाबी निवेदकको छ । यसबाट विद्यार्थीको भविष्यमाथि पनि खेलबाड हुने र शिक्षाको मूल मर्मविपरीत भएकाले यो प्रथा हटाउनु पर्ने माग गरिएको छ ।
भर्ना हुन चाहने विद्यार्थीको चाप उच्च रहेका यी स्कुलमा विभिन्न शक्तिशाली व्यक्तिको भनसुनमा मात्र भर्ना पाउने गरेको भनेर पनि आलोचना भएको थियो । साथै भर्खर विद्यालय पुगेका बालबालिकाको परीक्षा लिएर पास र फेल गराउँदा त्यसले मनोवैज्ञानिक असर पर्न सक्ने भनेर पनि प्रवेश परीक्षाको विरोध भएको थियो ।




