काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले लामो समयदेखि रोकिएको प्राथमिक सेयर निष्कासन (आईपीओ)सम्बन्धी समस्या समाधान गर्न नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण गराएको छ ।
सोमबार इप्पानका प्रतिनिधिहरूले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग भेट गरी लेखा समितिको निर्देशनका कारण १८ महिनादेखि आईपीओ निष्कासन रोकिएको विषयमा छलफल गरेका हुन्।
इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार, सार्वजनिक लेखा समितिले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई दिएको निर्देशनका कारण ४२ कम्पनीको आईपीओ तथा ३० भन्दा बढी कम्पनीको हकप्रद सेयर गरी ५० अर्ब रुपैयाँभन्दा बढीको निष्कासन रोकिएको छ।
इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले डेढ वर्षदेखि सार्वजनिक निष्कासन ठप्प हुँदा जलविद्युत् क्षेत्र मात्र नभई निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरू समेत प्रभावित भएको बताए। यसले समग्र अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको उनको भनाइ छ।
इप्पानका उपमहासचिव प्रकाश दुलालले लेखा समितिले निर्देशनमा उल्लेख गरेको ‘रियल नेटवर्थ’ भन्ने शब्दावली अन्तर्राष्ट्रिय लेखाप्रणालीमा कतै प्रयोग नहुने बताए। उनले सेबोनमा निवेदन दिएका कम्पनीहरूमध्ये अधिकांशको नेटवर्थ ९० प्रतिशतभन्दा बढी भए पनि उनीहरूलाई आईपीओ जारी गर्न रोकिएकोप्रति प्रश्न उठाए।
यस क्रममा इप्पानले संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण रोक्ने सर्वोच्च अदालतको आदेश र विद्युत् विधेयकका विषयमा पनि प्रमुख सचेतकको ध्यानाकर्षण गराएको छ।
भेटमा प्रमुख सचेतक घिमिरेले इप्पानका मागहरूलाई संसद्मा उठाउने प्रतिबद्धता जनाए। उनले निजी क्षेत्रलाई काम गर्न नदिने प्रवृत्ति प्रतिगामी भएको उल्लेख गर्दै आर्थिक वृद्धिका लागि व्यवसाय प्रवर्द्धन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे। साथै, व्यवसायीलाई नाफा कमाउन नदिने मानसिकताले मुलुकको आर्थिक प्रगति अवरुद्ध भएको टिप्पणी गरे।




